(१) आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि क्षेत्र निर्धारण गर्दा संविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) बमोजिम जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिम प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र हुने गरी निर्वाचनक्षेत्र निर्धारण गर्नेछ ।
(३) यस दफा बमोजिम जनसंख्याको आधारमा कुनै जिल्लामा एकभन्दा बढी निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने भएमा संविधानको धारा २८६ को उपधारा (६) मा उल्लिखित पक्षलाई समेत ध्यान दिई सम्भव भएसम्म त्यस्तो जिल्ला भित्रका सबै निर्वाचन क्षेत्रको जनसंख्याको अनुपात समान हुने गरी निर्धारण गर्नु पर्नेछ ।
तर एक जिल्लाको क्षेत्रलाई अर्को जिल्लामा समावेश हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिने छैन ।
(४) उपदफा (३) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा नगरपालिका वा गाउँपालिकाको कुनै वडा एकभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गरी निर्धारण गरिने छैन।